काठमाडौँ । नागर्जुन नगरपालिका–७मा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिन्दावासिनी सडकखण्डमा स्वीजरल्याण्ड पार्कबाट कलङ्कीतर्फ आउँदै गरेको प्र०१–०२५च ९२४३ नम्बरको जिपमा र विपरीत दिशाबाट गइरहेको बाप्र०२–०१७प १०९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।
शनिबार दुर्घटनामा परी गम्भीर घाइते भएका दोलखा शैलुङ्गेश्वर नगरपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ छाउनी बस्ने २० वर्षीय सजन सुवेदीको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
प्रहरी उपरीक्षक अधिकारीले फरार रहेका सुनसरी घर भई हाल काठमाडौँको नैकाप बस्ने ४३ वर्षीय गाडी चालक जगत्बहादुर मगरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताएका छन् ।