काठमाडौं । मोरङ उद्योग व्यापार संघको महिला उद्यमी समितिले विराटनगरमा ‘नारी उत्सव २०८१’ प्रदर्शनी गर्ने भएको छ । हरितालिका तीजको अवसरमा भदौ १४ देखि १६ गतेसम्म विराटनगरमा सो प्रदर्शनी आयोजना गरिने भएको हो ।
संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिको सहकार्यमा तीन दिने प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो । प्रदर्शनीमा महिलाहरूको घरायसी उत्पादनलाई प्रत्यक्षरूपमा बजारमा ल्याई आफ्नो सक्षमता झल्काउने र आत्मविश्वास बढाउने अवसर प्रदान गर्ने संघका अध्यक्ष अनुपम राठीले बताए । साथै, उनीहरूलाई बजारीकरणमा मद्दत पुर्याउने, सक्षमता दर्शाउने एवं आत्मनिर्भर बनाउने उद्देश्य लिएको उनले जानकारी दिए । उत्सवमा सबै प्रकारका स्थानीय औद्योगिक÷व्यावसायिक उत्पादनहरू समेत प्रदर्शन गर्ने अवसर प्रदान गरिने राठीले बताए ।
स्थानीय बजारको प्रवर्द्धनका लागि जोड दिने, निर्यातयोग्य वस्तुहरूको पहिचान गरी अवसर सिर्जना गर्न मद्दत पुर्याउने, उत्पादनकर्ता र उपभोक्ताबीचको सम्बन्ध विस्तार गर्नेलगायतका गतिविधिहरू गराई स्थानीय आर्थिक विकासमा योगदान पुर्याउने प्रदर्शनीको तत्कालीन लक्ष्य रहेको छ । साथै, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा संलग्न महिला उद्यमीहरूको प्रवर्द्धन एवं उत्थान गर्ने दीर्घकालीन र मध्यकालीन लक्ष्य समेत लिएको संघको महिला उद्यम समितिकी संयोजक श्रुति शर्माले जानकारी दिइन् ।
उनका अनुसार बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म हुने नारी उत्सवमा दर्शकहरूलाई निःशुल्क प्रवेशको व्यवस्था रहने छ । साथै, उत्सवमा उत्पादनहरू प्रदर्शनीका लागि एसी र ननएसी गरी करिब ६० वटा स्टलहरू राखिने शर्माले बताइन् । त्यस्तै, उत्सवमा अठार वर्षमाथिका महिलाहरूका लागि तीज क्विन २०८१ प्रतियोगिताको समेत आयोजना गरिने भएको छ । साथै, प्रत्येक दिन बेलुका विभिन्न स्थानीय कलाकारहरूबाट सांगीतिक कार्यक्रम आयोजना गरिने जनाइएको छ । उत्सवमा विभिन्न रचनात्मक र मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएका छन् ।