फ्रान्स । टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डुरोभ पक्राउ परेका छन् । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार डुरोभ फ्रान्सको पेरिसबाहिर बोर्जेट एयरपोर्टमा पक्राउ परेका हुन् । उनी त्यहाँ आफ्नो निजी जेटमा पुगेका थिए । पावेलविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।
पावेललाई सामग्रीको मध्यस्थतामा असफल भएको आरोप लगाइएको छ । यसले म्यासेजिङ एपमा आपराधिक गतिविधिलाई निरन्तरता दियो । सामग्री मध्यस्थता भनेको अनलाइन प्लेटफर्मबाट आपत्तिजनक वा हानिकारक सामग्रीलाई निगरानी गर्ने र हटाउने प्रक्रिया हो । आइतबार साँझसम्म टेलिग्राम वा फ्रान्सेली सरकार वा पुलिसबाट कुनै बयान आइसकेको थिएन । पक्राउ परेपछि रुसको विदेश मन्त्रालयले सोधेको छ, ‘के पश्चिमा गैरसरकारी संस्थाहरूले दुरोभको रिहाइको माग गर्नेछन् ?’
रिपोर्टहरूका अनुसार, सन् २०१५मा आईएसआईएसले पेरिस आक्रमणको लागि आफ्नो सन्देश पठाउन टेलिग्राम प्रयोग गरेको थियो । यस सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा पावेलले भनेका थिए, ‘मलाई लाग्छ कि आतङ्कवादजस्ता नराम्रो घटनाको डरभन्दा गोपनीयताको अधिकार महत्वपूर्ण छ ।’
रुसी पाभेल दुरोव र उनका भाइ निकोलाई दुरोवले सन् २०१३ मा टेलिग्राम सुरु गरेका थिए । यसको लन्चिङको ११ वर्षमा, यसलाई एक सय करोडभन्दा बढी पटक डाउनलोड गरिएको छ ।
भारत, इन्डोनेसिया र रुसका मानिसहरूले यसलाई सबैभन्दा धेरै प्रयोग गरेका छन् । सन् २०२२ मा रुससँगको द्वन्द्वपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशलाई सम्बोधन गर्न टेलिग्रामको प्रयोग गरेका थिए ।