जनकपुरधाम । मधेस प्रदेशको चार जिल्लामा हालसम्म तीन सय ३५ किलोमिटर हुलाकी सडक निर्माण भएको छ । प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा तीन सय ९३ किमि सडक निर्माण गर्नुपर्नेमा हालसम्म तीन सय ३५ किमि सडक निर्माण भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ । यहाँ आर्थिक वर्ष २०७२÷७३ बाट सुरु भई आव २०८०÷८१ सम्म उक्त सडक निर्माण भएको कार्यालयका सूचना अधिकारी रञ्जीतकुमार रायले जानकारी दिए । अब यी जिल्लामा ५८ किमि सडक निर्माण गर्न बाँकी छ ।
यहाँ सडक निर्माणका लागि आठ अर्ब ५१ करोड ७९ लाख ३९ हजार तीन सय खर्च भएको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । सडक निमार्णले करिब ३५ लाख जनता लाभान्वित हुनुका साथै हुलाकी सडक छेउछाउका जमिनको मूल्यवृद्धि, आर्थिक गतिविधिमा बढोत्तरी भएको उनले बताए । निर्माणका क्रममा केही स्थानमा विवाद भएकाले सम्पूर्ण काम गर्न नसकिएको महतोको भनाइ छ ।
प्राप्त विवरणअनुसार सिरहामा २९ दशमलव ९८ किमी कमला बलान सडक, २७ दशमलव ४६ किमि गोलबजार जमदह लवदी र गरियानी खडग सडक र धनुषामा ३५ दशमलव ५८ किमी कदम चोक, कप्टौल, निकौरिया सडक, १० किमि यदुकोहा, खजुरीमहुवा सडक तथा १० दशमलव २६ किमि जनकपुरधाम–जलेश्वर भिट्ठामोड सडक निर्माणसम्पन्न भएको छ ।