काठमाडौं । काठमाडौं महानगरपालिका–६ वसन्तनगरमा मङ्गलादेवी ज्येष्ठ नागरिक पार्क निर्माण गरिएको छ । बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा सो पार्क निर्माण गरिएको हो ।
पार्कको सोमबार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले वर्तमान संविधानले व्यवस्था गरेको समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था मङ्गलादेवीको नेतृत्वमा भएका आन्दोलनको उपलब्धि रहेको बताए । नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मङ्गलादेवी भएको उनको भनाइ थियो । ‘अहिले संविधानले हरेक क्षेत्रमा समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ । नीतिगत तहमा महिलाको हक र प्रतिनिधित्व सुनिश्चित भएको छ’, उनले भने, ‘महिलासँग जोडिएका आन्दोलन मङ्गलादेवीको नेतृत्वमा भएका हुन् ।’ नेवारी मौलिक पहिचान झल्काउने फाल्चा, व्यवस्था शौचालयसहितको व्यवस्थित पार्कले बानेश्वर, बुद्धनगर, बबरमहल क्षेत्रका ज्येष्ठ नागरिकलाई घुमफिर गर्न र समय कटाउन सहज हुने प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले बताए । पार्कको सञ्चालन र संरक्षण काठमाडौं–११ ले गर्ने वडाध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए ।