काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्तरूपमा प्रवर्द्धित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनडीपीसी)लाई अनलाइन समाचार एग्रिगेटर, ‘ग्लोबल फाइनान्सियल मार्केट रिभ्यु’ (जीएफएम) ले ‘मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४’ को अवार्डले सम्मानित गरेको छ । ग्लोबल फाइनान्सियल मार्केट रिभ्यु (जीएफएम) वित्तीय उद्योगमा केन्द्रित अनलाइन समाचार पोर्टल हो ।
पारदर्शिता, कर्पोरेट सुशासन, दिगोपन, नवप्रवर्तन, फिनटेक र ग्राहक सेवाप्रति एनडीपीसीद्वारा सञ्चालित डिजिटल भुक्तानी सेवाप्रदायक, नमस्ते पेको प्रतिबद्धता र निरन्तर प्रयासको आधारमा यो अवार्ड एनडीपीसीलाई प्रदान गरिएको हो । नमस्ते पेलाई नेपालको फिनटेक परिदृश्यमा एक रचनात्मक वालेट सेवाप्रदायक बनाउन नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडको निरन्तर प्रयास र नमस्ते पेले आफ्नो स्थापनाको दिनदेखि नै नवप्रवर्तनात्मक विद्युतीय भुक्तानीका समाधानहरू ल्याउने प्रयास गर्दै आएको छ ।
नमस्ते पेले युएसएसडी च्यानलमार्फत एस्ट्रिक ५०० ह्यास डायल गरेर उपभोक्ताहरूलाई विनाइन्टरनेट पनि वालेट सेवा अफलाइनमा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ, जसले डिजिटल वित्तमा उपभोक्ताहरूलाई सहज पहुँच प्रदान गरेको छ । साथै, रिक्वेस्ट मनी र स्पिल्ट बिलजस्ता सुविधाहरू उपलब्ध गराएर उपभोक्तालाई प्रदान गर्ने सुविधाहरूमा नवीनताको पहलकर्ता समेत बनेको छ ।
ग्लोबल फाइनान्सियल मार्केट रिभ्यु (जीएफएम)ले आफ्नो वेबसाइटमा अवार्ड विजेतालाई प्रवर्द्धन गर्न र विभिन्न समाचार प्लेटफर्महरूमा व्यापक कभरेज सुनिश्चित गर्न आफ्ना मिडिया साझेदारहरूसँग सहकार्य गर्ने योजना समेत बनाएको छ ।