काठमाडौं । श्री स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयरहरू प्रतिसेयर मूल्य एक सय रुपैयाँको दरमा सर्वसाधारणहरूमा निष्काशन गर्नका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई निर्जीवन लघुबीमा सेवा पुर्याउने लक्ष्य लिई यस स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड मिति २०७९ पुस १४ मा दर्ता भइ मिति २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानमार्फत लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
कम्पनीका अनुसार आइतबार गरिएको उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धकसचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।