मेरिल्यान्ड, असार १५
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या विश्वभर एक करोड पुगेको छ । पछिल्लो विवरणअनुसार विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ४ लाख ९८ हजार ८ सय ९५ जनाको मृत्यु भएको उल्लेख छ । करिब ५० लाख संक्रमित व्यक्ति निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन् ।
चीनको वुहानबाट उत्पत्ति भएको भाइरसबाट संयुक्तराज्य अमेरिका सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । अमेरिकामा १ लाख २५ हजार ५३९ जनाको मृत्यु भइसकेको छ । विश्वमै सबैभन्दा बढी व्यक्ति संक्रमित देखिएको अमेरिकामा हालसम्म २५ लाख १० हजारभन्दा बढी मानिस प्रभावित छन् । दोस्रो बढी संक्रमित भेटिएको मुलुक ब्राजिल छ ।
यहाँ हालसम्म १३ लाख १४ हजार व्यक्ति संक्रमित भएका र करिब ५७ हजारको मृत्यु भएको छ । अमेरिका, भारत, डेनमार्क र इटाली समेतका विश्वमा अतिप्रभावित मुलुकहरुले कोरोनाभाइरस फैलिनेक्रम तिब्र रहेकै अवस्थामा लकडाउन खुकुलो बनाउन थालेका छन् ।