काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले रैथाने बीउ, बाली हराउँदै जान थालेकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् । रैथाने एग्रो प्रोडक्ट्स् नेपाल टोखा–४ ले प्रत्येक शनिबार राजधानीको दरबारमार्गमा आयोजना गर्ने गरेको रैथाने कृषि बाली मेलाको अवलोकन गर्दै उनले रैथाने बीउ, बाली हराएर लोप भए कृषि प्रणालीमै समस्या आउने भएकाले सरोकार भएका निकायको ध्यान यसतर्फ जानुपर्ने बताए ।
चुरे क्षेत्रको विनाशले तराईमा पानी कम भई खानेपानीकै अभाव भएकाले कृषिकर्मका लागि त झन् समस्या हुन थालेको उनको भनाइ छ । चुरे क्षेत्रको संरक्षण नगरी सडकलगायत काम गर्दा नेपालमै राम्रो अन्न उत्पादन हुने तराई क्षेत्र उजाड बन्ने खतरा देखिन थालेकाले समयमै सचेत हुनुपर्नेमा उनले सचेत गराए ।
पहिले गाउँगाउँमा जेटिए गएर कृषिकर्म गराउने गरेकामा अहिले त्यो व्यवस्थाको अन्त्य गराएर नेपालको कृषि प्रणाली अधोगतितर्फ जान थालेकाले बेलैमा सचेत हुनुपर्ने उनको भनाइ थियो । सो अवसरमा रैथाने एग्रो प्रोडक्ट्स नेपालका अध्यक्ष तिलक ढकालले उपभोक्ताले स्वस्थ एवं अग्र्यानिक उत्पादन पाऊन् भन्ने उद्देश्यले प्रत्येक हप्ताको शनिबार दरबारमार्गस्थित ओरियन क्याफेमा मेला आयोजना गर्ने गरिएको जानकारी दिए । साप्ताहिकरूपमा शनिबार बिहान ६ देखि मध्याह्न १२ बजेसम्म चल्ने मेलामा रैथाने उत्पादनको बिक्रीवितरण हुने गरेको छ । मेलामा उपभोक्ताको सहभागिता पनि बढ्न थालेको संस्थाका सदस्य वैकुण्ठ प्याकुरेलले जानकारी दिए । रैथाने उत्पादनलाई तीनै तहका सरकारले प्रवर्द्धन गर्नेगरी नीति निर्माण गरिनुपर्नेमा उनले जोड दिए ।