काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट लिमिटेड (बिगमार्ट प्रालि) बीच डिजिटल कारोबारलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ । सम्झौतापश्चात देशभरि रहेका बिगमार्टका आउटलेटहरूबाट माछापुच्छ्रे बैंकका ग्राहकले बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल माध्यमहरू प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधाहरू पाउनेछन् ।
यसैबीच बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पीओएसबाट बिगमार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा दुई सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गर्नेछ । माछापुच्छ्रे बैंकले देशभर रहेका तीन सयभन्दा बढी विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संधसंस्थाहरूलाई व्यापार प्रवर्द्वनमा सघाउ पुग्दै आइरहेको छ ।
साथै, बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रिन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन तथा सेवाहरू सञ्चालन गरिरहेको छ । बैंकले हाल देशका सात वटै प्रदेशमा एक सय ६५ वटा शाखा, १२ एक्सटेन्सन काउन्टर, एक सय ११ शाखारहित बैंकिङ सेवा, दुई सय एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।