काठमाडौं । पोखरामा महिला उद्यमीहरूले मिलेर सृष्टि क्रिएसन कोशेली घर सञ्चालनमा ल्याएका छन् । २८ जना महिलाको समूहले कोशेली घर सञ्चालनमा ल्याएका हुन् । सामूहिकरूपमा उनीहरूले जनही तीन लाख रुपैयाँका दरले रकम संकलन गरेर ८४ लाखको पुँजीमा सृष्टि क्रियसन सञ्चालन गरेको वित्त विभाग संयोजक शान्ता श्रेष्ठले बताइन् ।
कोशेली घरका अध्यक्ष शान्ति उदासले महिलाहरूलाई उद्यमशील बनाउन जागृत गर्न र उनीहरूले उत्पादन गरेका सामग्रीको बजारीकरणका लागि सहजीकरण पनि कोशेली घर सञ्चालन गरेको जानकारी दिइन् । कोशेली घरमा विभिन्न हस्तकलाका सामग्रीहरू राखिएको छ । यस्तै, परम्परागत परिचय दिने कपडा पनि राखिएको छ । यहाँ राखिएका वस्तुले नेपाली उत्पादनको झल्को दिएको छ भने उत्पादन गरिरहेकाको लागि बजारीकरण र उद्यमी बन्न चाहनेका लागि ज्ञान प्राप्त गर्ने थलो पनि बनेको छ । कोशेली घरको हालै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका थिए । मन्त्री थापाले नेपाली हस्तकलाका सामग्री पर्यटकका लागि रूचिका वस्तु हुने भएकाले उनीहरूका लागि कोशेली घर गन्तव्यको थलो बनाउनुपर्नेमा जोड दिएका थिए ।