काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को सोमबार आयोजित ४६औँ वार्षिक साधरणसभामा मन्त्री पाण्डेले निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाउँदै पर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा सक्रिय ढङ्गले लाग्ने बताए । मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर रहेको उनको भनाई थियो । ‘पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ’, उनले भने, ‘पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र पनि प्रभावकारी हुनुपर्छ ।’ यस्तै, उनले नागरिक उड्डयन क्षेत्रमा विश्वास दिलाउन सकेको अवस्थामा मात्रै विदेशी पर्यटक भित्र्याउन सकिने उल्लेख गर्दै हवाई सुरक्षा अभिवृद्धिमा सरोकारवालाले ध्यान दिनुपर्ने खाँचो औँल्याए ।
नेपालको पर्यटनको विकासमा पर्यटन विकास नीति, संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भइरहेको पनि उनले जानकारी दिए । हवाई क्षेत्र सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसकेको उनले बताए । कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन क्षेत्रको विकासका लागि सरोकारवालाबीच समन्वय र सहकार्य जरुरी रहेको बताए । यस्तै टानका अध्यक्ष नीलहरि बास्तोलाले टानलाई व्यवसायमैत्री बनाएर पदमार्गको संरक्षण प्रवर्द्धनमा जोड दिए ।
टानको साधरणसभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ । टानको नयाँ नेतृत्वका लागि आकाङ्क्षीहरूले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । अध्यक्षका दुई आकाङ्क्षी राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डे समूहगतरूपमा नयाँ कार्यसमितिका लागि चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । टानका महासचिव विनोद सापकोटाका अनुसार नयाँ कार्यसमिति चयनका लागि सोमबार नै मतदान भएको छ । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनित गर्ने व्यवस्था छ । निर्वाचनमा एक हजार तीन सय ९७ मतदाता रहेका छन् ।