काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले छैटौँ वार्षिकोत्सवमा ‘लगानी दशक सफल बनाउने जिम्मेवारी, सार्वजनिक निजी सहकारीको साझोदारी’ बहस कार्यक्रम गरेको छ ।
सरकारले ंघोषणा गरेको ‘कृषिमा लगानी दशक’ अनुरूप सरकारी, गैरसरकारी, निजी र सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी प्रमुख आतिथ्यता र राष्ट्रिय योजना आयोग, राष्ट्रिय किसान आयोग, गाउँपालिका महासंघ, नगरपालिका संघ, राष्ट्रिय सहकारी महासंघ, उद्योग वाणिज्य महासंघ, विकास साझेदार र कृषि क्षेत्रका विभिन्न दुई सय ५० भन्दा बढी सरोकारवालाको उपस्थितिमा कार्यपत्र प्रस्तुतिसहित वक्ताहरूले कार्यपत्रमाथि धारणा राखेका हुन् ।
मुक्तिनाथ कृषि कम्पनी लिको छैटौं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले न्यून आय भएका किसान र सरकारलाई जोडी कृषकको आयस्तर वृद्धि गर्नका लागि निजी क्षेत्र र सहकारीको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै निजी क्षेत्रको लगानीलाई आकर्षित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।
उनले रैथाने खाद्यान्नको प्रवर्द्धन गर्ने, रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गरी स्वच्छ उत्पादन गर्ने, अनुदान प्रणालीलाई व्यवस्थित र संस्थागत गर्ने र चकलाबन्दी र सामूहिक खेतीलाई प्रवर्द्धन गर्ने मुख्य प्राथमिकतामा राखेको बताए ।
त्यस्तै, कार्यपत्रमाथि आफ्ना दृष्टिकोण राख्ने क्रममा वक्ताहरूले संघ सरकार नीतिगत व्यवस्थापनमा, प्रदेश सरकारहरू औद्योगिक आयोजनाको विकासमा, स्थानीय सरकारहरू उत्पादन र वितरणमा, निजी क्षेत्र प्रविधि प्रसार, उद्योगहरूको सञ्चालन तथा व्यवस्थापन र बजारीकरणमा, सहकारी क्षेत्र कृषक र उपभोक्तालाई तल्लो तहसम्म सेवा प्रदान गर्ने संस्थागत संरचनाका रूपमा र विकास साझेदारहरू क्षमता अभिवृद्धि र सामाजिक विकासमा लाग्नुपर्ने विषयमा जोड दिएका थिए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डनले निजी क्षेत्रको लगानीलाई आकर्षण गर्न बलियो नियमनकारी निकाय आवश्यकताको विषय उचित रहेको बताउँदै यसलाई छलफलमा ल्याउनुपर्नेमा जोड दिए ।