नयाँदिल्ली । भारतीय पुँजीबजार नियामक सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)का प्रमुख माधवी पूरी बुचविरुद्ध तीन ठाउँबाट तलब भत्तासहितको सुविधा लिएको आरोप लागेको छ ।
प्रमुख विपक्षि दल कांग्रेस प्रवक्ता पवन खेडाले पत्रकार सम्मेलन गरी माधवी सेबीमा आवद्ध हुँदा आईसीआईसीआई बैंकसहित तीन ठाउँबाट तलब भत्ता लिएको आरोप लगाएका हुन् ।
माधवी सन् २०१७ अप्रिल ५ देखि सन् २०२१ अक्टोबर ४ सम्म सेबीको पूर्णकालीन सदस्य थिइन् । त्यसपछि सन् २०२२ मार्च २ मा सेबीको अध्यक्ष बनिन् । प्रधानमन्त्री नरेन्द्र मोदीको क्याबिनेटले बुचलाई सेबी अध्यक्ष बनाएको हो ।
कांग्रेसले माधवी पुरी बुचले सेबीको पूर्णकालीन सदस्य भएको बेला आईसीआईसीआई बैंकबाट १६ करोड ८० लाख भारतीय रुपैयाँ बराबरको नियमित आम्दानी लिइरहेको आरोप लगाएको छ ।