काठमाडौं । छायादेवी कम्प्लेक्सविरुद्ध परेको मुद्दामा सर्वोच्चले ब्लुप्रिन्ट झिकाउने आदेश दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयविरुद्ध अधिवक्ता रामहरि श्रेष्ठले हालेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतको न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सो आदेश दिएको हो ।
आदेशमा कि.नं. १६७ र कि.नं. १०४० प्रष्ट बुझिने गरी ब्लुप्रिन्ट मगाउने साथै उल्लिखित दुवै कित्ताहरू कित्ताकाट हुँदा साबिकदेखि हालसम्म कायम भएका कित्ता नं, प्रस्ट बुझिने गरी प्लस्ट रजिस्टर तथा ट्रेस नक्सा सम्बन्धित नापी कार्यालयवाट झिकाउनू भनिएको छ ।
त्यस्तै कि.नं. १६७ र कि.नं. १०४० को जग्गा नेपाल सरकारको नाममा दर्ता कायम गर्ने भनी मिति २०४४।०८।२३ मा निर्णय भएको देखिएको र मिति २०८०।१२।२० को आदेशअनुसार उक्त मिसिल झिकाउने आदेश पनि भएको तर प्राप्त भएको नदेखिँदा प्रस्तुत मुद्दा निर्णय गर्दा उक्त मिसिल अध्ययन गर्न आवश्यक भएकोले उल्लिखित मिसिल भूमि सुधार तथा मालपोत कार्यालय काठमाडौंबाट झिकाउन समेत आदेश दिएको छ ।