विराटनगर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चोभारस्थित पुष्प तथा फलफूल थोक बजारमा संरचनाको निर्माण एक महिनाभित्रै सक्न निर्देशन दिएका छन् । शुक्रबार निर्माणधीन संरचनाको निरीक्षण गर्दै कृषिमन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र कार्यसम्पादन गर्न नसके कारबाही गर्ने चेतावनी समेत निर्माण व्यवसायीलाई दिएका छन् ।
पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउनुपर्ने कृषिमन्त्री अधिकारीले बताए । यसका लागि मन्त्रालय आवश्यक सहजीकरण गर्न तयार उनको भनाइ छ । चोभारको बहुतले भवन सञ्चालनमा आउँदा उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुने उनले बताए । भवन निर्माणमा कुनै पनि बहाना नगर्न निर्माण कम्पनीलाई उनले निर्देशन दिए । फूल र फलफूलको बिक्री वितरणलाई व्यवस्थित गराउने उद्देश्यले आठ वर्षअघि सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको हो तर अझै निर्माण अपूरो रहेपछि कृषिमन्त्री अधिकारीले स्थलगत निरीक्षण गरेका हुन् ।
मन्त्री अधिकारीलाई निर्माण व्यवसायी रवि सिंहले हालसम्म भएका प्रगति, अहिलेको अवस्था र समस्याका बारेमा जानकारी गराएका थिए । ‘निर्माणस्थलको दक्षिण–पश्चिम कुनाबाट अनेक्षित ढङ्गबाट ठूलो मात्रामा पानी आइरहेको छ, त्यसको निकासका लागि संरचना बनाउन निर्देशन र आवश्यक बजेटको व्यवस्था नभएसम्म निर्माण अघि बढ्ने अवस्था छैन’, उनले भने । यस्तै, उनले दुवै भवन निर्माण अन्तिम चरणमा रहेको जानकारी गराएका थिए । निरीक्षणका क्रममा सांसद राजेन्द्रकुमार केसीले निर्माण तत्काल सकेर बजार सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । यस्तै, कीर्तिपुर नगरपालिका–६ का अध्यक्ष खिरमानसिंह बस्नेतले केही स्थानीयले जग्गाको मुआब्जा नपाएको उल्लेख गर्दै उक्त समस्या समाधान गर्न आग्रह गरे ।
दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७३ असोजमा करिब ३५ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार काम नभएपछि २०८० चैत १३ यही भदौ मसान्तभित्र काम सम्पन्न गर्नेगरी ११औँ पटक म्याद थप भएको थियो । भवन निर्माणका लागि ११औँ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी रहँदा अझै १३ प्रतिशत काम बाँकी छ । थपिएको समयमा काम पूरा नहुँदा लागत बढेर ४० करोड रुपैयाँ बढी पुगेको छ । लागत बढ्दै जाने तर सम्झौताअनुसार काम नभएपछि कृषिमन्त्री अधिकारी मन्त्रालयका प्रतिनिधि, निर्माण कम्पनी र परामर्शदातासहित निर्माणस्थल पुगेका थिए । हाल संरचना निर्माणको भौतिक प्रगति ८७ प्रतिशत मात्रै भएको छ ।
कालीमाटीस्थित फलफूल तथा तरकारी विकास समितिको स्वामित्वको उक्त बजार निर्माण भएपछि फलफूलको बिक्री वितरण सुविधा सम्पन्न बहुतले दुई भवनबाट हुनेछ । विगतमा कृषि चुन कारखाना सञ्चालन भएको कुल २३ रोपनी फराकिलो जमिनमा आधुनिक फलफूल बजार सञ्चालमा ल्याउन लागिएको हो । पाँच तले भवनमा करिब ७० वटा स्टल र दुई तले भवनमा ३० वटा स्टल रहनेछन् । साथै, भवनमा समितिको कार्यालय, बैंक र सभाहल पनि हुनेछ ।