काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न कर्मचारीहरू दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिएका छन् । २१औँ निजामती सेवा दिवसका अवसरमा शनिबार सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा उनले नेपाललाई ‘नन करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीहरूलाई आग्रह गरे ।
‘तपाईंहरू कतै प्रयोग नहुनूस् । भ्रष्टाचारजस्तो दुष्कर्ममा सहभागी नहुनूस् । तपाईँलाई प्रयोग नगरी नेताहरूले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरूको रेकर्ड राख्नूस्’, उनले भने, ‘भाषणमा एउटा र व्यवहारमा अर्काे काम गर्ने नेताहरूले ठूला कुरा गर्दा अरू केही गर्न नसके पनि चिन्या छुु भनेर मुसुुक्क हाँसिदिनूस् ।’ यस्तै, उनले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए । कार्यक्रममा उनले राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न पनि कर्मचारीलाई निर्देशन दिए । यस्तै, उनले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानुनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा परिवर्तनको नायकत्व लिएका पार्टीहरूको समेत सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकलाई छिटो पारित गर्ने बताए । यसका लागि छलफल प्रक्रिया थाल्ने उनले बताए । यस्तै, उनले सरकार टे«ड युनियन अधिकारलाई सम्मान गर्न प्रतिबद्ध रहेको बताए । यद्यपि अधिकार छ भन्दैमा दुुई/चार जना गएर तालाबन्दी गर्ने, सेवा प्रभावित पार्ने, अत्यावश्यक क्षेत्रमा हड्ताल गर्नेजस्ता काम गर्न नहुने उल्लेख गरे । प्रधानमन्त्री ओलीले विगतमा कर्मचारीको उत्साह थप्न आफूूले एकैपटक २५ प्रतिशत तलब वृद्धि गरेको स्मरण गर्दै हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले तलब वृद्धि गर्न नसकिने बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार समेत प्रदान गरेका थिए । गत वर्ष २०औँ निजामती सेवा दिवसका अवसरमा घोषणा गरिएका कर्मचारीलाई उनले पुरस्कार प्रदान गरेका हुन् । १० उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई प्रधानमन्त्री ओलीले ताम्रपत्रसहित पुरस्कृत गरेका थिए । उत्कृष्ट कर्मचारीमा थानेश्वर गौतम, बुद्धबहादुर गुरुङ, कविन्द नेपाल, मानबहादुर खड्का, रामप्रसाद लम्साल, ढुण्डीराज लामिछाने, चन्द्रप्रसाद मिश्र, सुनिलकुमार केसी, लक्ष्मीकृष्ण हमाल र शुभलक्ष्मी लामा रहेका छन् । उक्त पुरस्कार एक लाख रुपैयाँ राशिको रहेको छ ।
यस्तै, निजामती सेवा पुरस्कार डा रोशनीलक्ष्मी तुईतुई, कुमार घिमिरे, सुकदेव लम्साल, रेविका अमात्य, राजकुमार केसी, होमनाथ भट्टराई, सङ्गीता स्वाँर, डा डमरुवल्लभ पौडेल, नारायणप्रसाद ज्ञवाली, चुडाराज सापकोटा, शोभा गिरी, नरबहादुर नेगी, मीन पौडेल, सुशीला ज्ञवाली, किशोर पन्थीलाई प्रदान गरिएको छ । त्यस्तै, नवराज तामाङ, सुजन जोजिजु, युक्तप्रसाद सुवेदी, मनिता न्यौपाने, शशिधर सेढाइँ, ठाकुरप्रसाद भट्टराई, मनोजकुमार महतो, राजु कटुवाल क्षेत्री, हुर्मत विक, देवकला अर्याल, उमेश भट्टराई, रामप्रकाश साह, दीपकराज पन्त, शान्ता महर्जन र जवाहरलाल अहिरलाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँको छ ।
कार्यक्रममा यस वर्षको उत्कृष्ट निजामती सेवा र निजामती सेवा पुरस्कारको पनि घोषणा गरिएको थियो । २१औँ निजामती सेवा दिवस, २०८१ को अवसर पारेर घोषणा गरेका पुरस्कार भने २०८२ को २२औँ निजामती सेवा दिवसको अवसरमा प्रदान गरिनेछ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा नियमावली २०५० अनुसार ती कर्मचारीलाई सम्मान गरिनेछ ।
यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीमा रामचन्द्र दैगाल, शंकरबहादुर केसी, राजुप्रसाद गुरागार्ईं, सागर मिश्र, चुडाराज न्यौपाने, कृष्ण सापकोटा रहेका छन् । यस्तै, चिरञ्जीवी नेपाल, आशा राई, बुनु राना, निलबहादुर पुर्जा मगरलाई पनि उत्कृष्ट निजामती सेवा पुरस्कार दिइनेछ । त्यस्तै, विभिन्न कार्यालयमा कार्यरत ३० कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ । मन्त्रालयका अनुसार मित्र बराल, मोहन राई, शिवप्रसाद चौधरी, आनन्द पौडेल, रमेश थिङ, काफिल अहमद, श्यामकुमार यादव, गङ्गादत्त भट्ट, सविता नकर्मी, केशवराज पार्धे, वेदप्रसाद खनाल, प्रेमकुमार पोखेरललाई यस वर्षको निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ ।
यसैगरी, शतलसिंह उखेडा, कृष्णप्रसाद पौडेल, सुशिला सिंह, शिलुकमा लिंथेप, उदयप्रकाश लिम्बू, कृष्णबहादुर खत्री, हेमन्ती साउद, राममाया गुरुङ, पुष्पराज रिजाल, रोशनी नेपाल, राजेद्रप्रसाद ढुङ्गाना, प्रतिभा काफ्ले, गणपैत यादव, छत्तबहादुर बोगटी, हिरालाल सुनार, मानबहादुर दराई, जनक महत र टहदबहादुर जिरेललाई निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ । सरकारले वर्षभरि सम्पादन गरेको कामका आधारमा निजामती कर्मचारीको नाम छनोट गरी पुरस्कृत गर्दै आएको छ ।