म्याग्दी । पर्यटकको सहजताका लागि उपल्लो मुस्ताङका पदमार्गमा ‘साइन पोस्टिङ’ र पर्यटकीयस्थलमा सूचना पाटी तथा ‘होर्डिङ बोर्ड’ राखिएको छ । लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय पदमार्ग पहिचान गर्न सहयोग पुग्ने साइन पोस्टिङ, पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलको महत्वका विषयमा जानकारीमूलक सूचनापाटी तथा वन्यजन्तुको संरक्षणबारे सन्देशमूलक होडिङबोर्ड राखेको हो ।
एक्याप लोमान्थाङका रेञ्जर मदन पौडेलले बारागुङ मुुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ, लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको ४८ स्थानमा साइन पोस्टिङ, सूचना पाटी र होडिङ बोर्ड राखिएको जानकारी दिए । ‘पर्यटकहरूले संकेत चिह्न हेरेर आफ्नो गन्तव्य पहिचान गरेर यात्रा गर्न सहज होस्, नहराऊन् र दुःख नपाऊन् भनेर साइनपोस्टिङ राखिएको हो,’ उनले भने, ‘गुफा, ताल, गुम्बा, दरबारलगायत ऐतिहासिक, प्राकृतिक, धार्मिक र पर्यटकीय स्थलको महत्व र विशेषता बुुझ्नका लागि नक्सासहितको सूूचनापाटी राखेका छौँ ।’ स्थानीयस्तरमा पाइने दुर्लभ वन्यजन्तुको संरक्षण, मानव र वन्यजन्तुुको द्वन्द्व न्यूनीकरण गराउन सावधानी अपनाउन सन्देश प्रवाह गराउने र पर्यटकलाई जानकारी गराउने उद्देश्यले हिउँचितुवा, रातो भालु, तिब्बती अर्गेलीलगायत जनावरका बारेमा होडिङ बोर्ड राखिएको छ ।
अग्ला, नाङ्गा र उजाड पहाड पार गरेर छरिएका मानव बस्ती तथा पर्यटकीय, धार्मिक र प्राकृतिकस्थल जाने क्रममा पर्यटकले बाटो बिराएर भनेकोभन्दा अन्यत्र पुग्ने, घुमाउरो बाटो हिँड्नुपर्ने र दुुःख पाउने समस्या न्यूनीकरणका लागि सडक र पदमार्ग छेउछाउमा ‘रेञ्जिङ पोल’ र साइनपोस्टिङ राखिएको एक्यापका प्रमुुख प्रमोदराज रेग्मीले बताए ।