काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन २७ सय बिन्दुमा खुम्चिएको छ । साताको पहिलो दिन आज आईबार नेप्से परिसुचक २५ दशमलव ४६ अंकले ओरालो लागेर २७ सय एक दशमलव ९० बिन्दुमा खुम्चिएको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ६३ अंकले ओरालो लागेर चार सय ७६ दशमलव ७२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २८ वटा कम्पनीहरुको एक लाख १२ हजार तीन सय पटकको कारोबारमा दुई करोड २२ लाख ६२ हजार नौं सय ६४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम १० अर्ब १२ करोड २४ लाख आठ हजार दुई सय ४९ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएको छ । जसमध्ये लघुवित्त, उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, अन्य र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।