काठमाडौँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ ।
विमानस्थलबाट उडेको केही मिनेटमा श्री एयरलाइन्सको विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्ट’ गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । उनले काठमाडौँबाट सुर्खेतका लागि सोमबार विहान उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको बताए ।
प्राविधिक समस्या देखिएको उक्त विमानका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्य पुर्याइएको श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए ।