काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् । अर्यालले आइतबार पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै उनले संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण ऊर्जा खर्चिने प्रतिबद्धता जनाइन् ।
मन्त्रिपरिषद्को भदौ २० को बैठकले अर्याललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयबमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा चार वर्षको पदावधि रहने गरी नियुक्त गरिएको पत्र प्रदान गरेको थियो । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० असोज १७ को निर्णय (मा. मन्त्रीस्तर)बमोजिम उनले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन् । उनले २०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् । यस्तै, २०७८ माघ १८ गते उनी नायब प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् ।