काठमाडौं । लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । जघन्य अपराजमा तानिएका कुर्मी अपहरण तथा शरीर बन्धक र ठगीसहित विभिन्न पाँच वटा कसुरमा तानीएका थिए । उनीबिरुद्ध मुद्दा चलाउनुको साटो मन्त्री पद दिएपछि त्यसको चर्को बिरोध भएको थियो । बिरोध चर्को रुपमा देखापरेपछि उनले राजीनामा दिएको बुझिएको छ । उनले राजीनामा दिएपनि उनीबिरुद्ध चलाउनुपर्ने मुद्दामा भने संका उत्पन्न भएको छ । जघन्य अपराध अभियोगमा मुद्दा चलाउन अनुसन्धान समितिले प्रतिवेदन दिए पनि यसलाई बेवास्ता गरेर कांग्रेस–एमाले सत्ता गठबन्धनले कुर्मीलाई लुम्बिनीमा वन तथा वातावरणमन्त्री बनाएको थियो ।
बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु, मृत्यु भएको भनी बनाइएका शंकास्पद कागजात, निर्मलाको सम्पत्ति हडपिएको लगायत प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेका बेला पछिल्लो पटक कांग्रेस–एमाले गठबन्धनबाट लुम्बिनीमा मुख्यमन्त्री बनेका चेतनारायण आचार्यले कुर्मीलाई वन तथा वातावरणमन्त्री बनाएका थिए ।
नेपाल प्रहरीका विभिन्न संयन्त्रहरूबाट भएका अनुसन्धान र छानबिनले निर्मला कुर्मी प्रकरणमा कांग्रेस नेता बादशाह कुर्मीको ‘आपराधिक संलग्नता’ रहेका तथ्यहरू बाहिरिए पनि सत्ता–शक्ति आडमा उनले उन्मुक्ति पाउँदै आएका थिए । उनीमाथिको अनुसन्धान अवरुद्ध गरेर कांग्रेसले कारबाहीबाट जोगाउँदै आएको थियो ।