काठमाडौं, असार १७
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्री भट्टराईले आफूमातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरूमा छड्के निरीक्षण गरेका हुन् । निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरूको अनुपस्थिति रहेकोे पाइएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो, सो बुझी कर्मचारी नियमितरूपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिए ।
मन्त्री भट्टराईले कार्यालयको सरसफाइ र लेआउटमा ध्यान दिन समेत कर्मचारीहरूलाई आग्रह गरे । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिए । निरीक्षणपछि मन्त्रीले पर्यटन मन्त्रालय मातहतमा रहेका सबै कार्यालयको क्रमैसँग निरीक्षण गर्ने बताए ।