काठमाडौं । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले देशभरका युवाको सहभागितामा नेपाल युथ समिट (युवा सम्मेलन) हुने भएको छ । राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा शुक्रबार र शनिबार काठमाडौंमा युवा समिट हुने भएको हो ।
समिटमा देशभरका करिब पाँच सय युवाको सहभागिता रहने संयोजक भूपेन्द्र जङ्ग शाहीले जानकारी दिए । समिटको उद्घाटन सत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र वन तथा वातावरण राज्यमन्त्री रूपा विश्वकर्मा सहभागी हुनेछन् । समिटमा वक्ताका रूपमा सांसदहरू विनोद चौधरी, सोविता गौतम, मैना कार्की, पूर्वसांसद नविना लामालगायत छन् । यसैगरी समिटमा नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणा, बैंकर्स भरत ढकाल, चर्चित उद्यमी विदुषी राणा, चर्चित खेलाडी पलेशा गोवर्धन, बैंकर्स मनोज ज्ञवालीलगायत विभिन्न क्षेत्रका विज्ञहरू, युवा उद्यमीहरू, चलचित्रकर्मी, लेखक साहित्यकार, जनप्रतिनिधि वक्ताको रूपमा रहने आयोजकले जनाएको छ ।
‘नेपाली युवालाई स्वदेशमै केही गर्न सकिन्छ र समुन्नत र समृद्ध नेपालको चाहनालाई पूरा गर्न युवाको भूमिका अतुलनीय रहन्छ भन्ने कार्यक्रमको अभिप्राय हो । समिटको उद्देश्य भनेको समाजका विभिन्न क्षेत्रका स्थापित र सक्षम युवाको बृहत् भेला, एकता र सहकार्यमार्फत, नयाँ विचार, युवाको क्षमता विकास, साझा एजेन्डा, देशमै रोजगारी सिर्जनाको वातावरण, उद्यमशीलता र नवप्रवद्र्धन, समाजमा सकारात्मक परिवर्तन र राष्ट्र निर्माणको साझा संकल्प गर्नु हो’, संयोजक शाहीले भने । समिटमा विभिन्न क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गरिरहेका युवाले भाग लिने कार्यक्रम तय भएको छ ।