बैतडी । जिप दुर्घटना हुँदा जिल्लाको सुर्नया गाउँपालिका–८ की घाइते भएकी १८ वर्षीया सविना महराको उपचारका क्रममा मृत्यु भएको छ । बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले सविनाको उपचारका क्रममा धनगढीस्थित निःसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
जिल्लाको सुर्नया गाउँपालिका–८ ढुङ्गाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सुपप्र ०१००ज १३५४ नंको जिप मङ्गलबार दुर्घटनामा परेको थियो । कच्ची सडकमा जिप दुर्घटना हुँदा चालक सुर्नया–७ का लालबहादुर कुँवरसहित पाँचजना घाइते भएका थिए । घाइतेमध्ये सविनालाई थप उपचारका लागि डडेल्धुरा अस्पतालबाट धनगढी ‘रेफर’ गरिएको थियो ।
दुर्घटनामा घाइते भएका चालक लालबहादुर कुँवरलाई डडेल्धुरा अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महरा डडेल्धुरा अस्पतालमा उपचारपछि घर गइसकेका छन् ।