महेन्द्र शाही
सोलुखुम्बु, असार १७
घरको ढोका छोएको निहुँमा दलित किशोरमाथि हातपातमा संलग्नलाई तत्काल पक्राउ गर्न सोलुखुम्बुका दलित समुदायका अगुवाहरूले माग गरेका छन् । गत जेठ ३१ गते सोलुदूधकुण्ड नगरपालिका ९ सिसाखोलाका स्थानीय तारा थापामगर र श्याम थापामगरले १६ वर्षीय दिपक विश्वकर्मामाथि हातपात गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा मुद्दा समेत दर्ता भएको छ । मुद्दा दर्ता भए पनि पक्राउ नगरेको भन्दै अधिकारकर्मीले कानुनी दायरामा ल्याउन मागसहित जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
जातीय भेदभावविरुद्धको कसुरमा असार ७ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता भएर पक्राउ पुर्जी जारी भए पनि पक्राउ नगरिएको भन्दै प्रशासन र प्रहरीको ध्यानाकर्षण गराउनु परेको दलित अगुवा विनोद कालीकोटेले बताए । यदि घटनालाई सामान्यरूपमा लिएर दोषीलाई उन्मुक्ति दिने कोसिस भएमा जिल्लाका सिंगो दलित समुदाय सशक्त आन्दोलन गर्न बाध्य हुने समेत ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) रमा आचार्यले आफू जातीय विभेदविरुद्धकै अभियानमा रहेको भन्दै यथार्थ बुझेर पक्राउमा सहजीकरण गर्ने बताइन् । कसैले पनि जातीय विभेद गरेको पाइएमा कडाभन्दा कडा कारबाही गरिने उनको भनाइ छ । यता जिल्ला प्रहरी कर्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकुनन्द इवा लिम्बुले किटानी जाहेरीको आधारमा आरोपितको खोजीकार्य जारी रहे पनि नभेटिएको जानकारी दिए । ध्यानकर्षणपत्रको सोलुदूधकुण्ड नगरपालिका र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुलाई समेत बोधार्थ दिइएको छ । इन्सेक सोलुखुम्बुको सहयोगमा नै उक्त मुद्दा दर्ता भएको थियो ।