काठमाडौं । महालक्ष्मी विकास बैंक र अध्यान्ता फन्ड म्यानेजमेन्ट लिमिटेबीच साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा एक रणनीतिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौताअनुसार कृषि, कृषि आपूर्ति, कृषि प्रशोधन, पर्यटन, उत्पादन, डिजिटल सेवा, हस्तकला र अन्य उत्पादनशील तथा निर्यात क्षेत्रमा रहेका साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच अभिवृद्धि तथा लगानीको आधार निर्माण गर्दै प्रतिस्पर्धात्मक क्षमताको विकास तथा आर्थिक प्रतिकूलताको समयमा पनि सञ्चालन सक्षमताको विकास गर्न एक आपसमा साझेदारी गर्ने सम्बन्धमा सहमति भएको हो ।
यसअन्तर्गत अध्यान्ता फन्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमहरूको वित्तीय लगानी, बजार विस्तार, व्यावसायिक विकास, वित्तीय व्यवस्थापन, व्यवसाय रणनीतिको निर्माण, अनुपालना तथा सञ्चालन दक्षता वृद्धि गर्न प्राविधिक सहयोग गर्नेछ भने महालक्ष्मी विकास बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा बैंकको नीतिबमोजिम साना तथा मझौला उद्यमहरूको पुँजीको पहुँचलाई सहज बनाउन वित्तीय सेवा, प्रतीत पत्र, विदेशी विनिमय व्यवस्थापनजस्ता सेवाहरू प्रदान गर्नेछ । यसबाट देशको दीर्घकालीन आर्थिक वृद्धिमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर एक सय तीनवटा शाखा कार्यालयहरू र करिब आठ लाख ग्राहकहरू रहेका छन् । साथै, मिति २०५० पुस २८ मा सम्पन्न बैंकको २२ औँ वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।