काठमाडौं । नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका ६० जना विद्यार्थीहरूले कलेजमा आयोजित इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा सहभागी विभिन्न आईटी कम्पनीमा रोजगारी पाएका छन् ।
छानिएका विद्यार्थीहरूले केही समय काम सिकिसकेपछि सोही कम्पनीमा काम पाउने पक्का भएको हो । लर्ड बुद्ध एजुकेसन फाउन्डेसन मैतीदेवीमा आयोजित दुई दिने कार्यक्रममा १५ भन्दा बढी रोजगारदाता आईटी कम्पनीहरू र करिब एक सय ५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो । विद्यार्थीहरूले सम्भावित रोजगारदाताहरूसँग अन्तरक्रिया गर्ने, आफ्नो सीपहरू प्रदर्शन गर्ने र इन्टर्नसिपका साथै रोजगारी पक्का गर्ने मौका पाएका थिए ।
प्राविधिक क्षेत्रमा विभिन्न प्रकारका उद्योगहरूको प्रतिनिधित्व गर्दै सहभागी कम्पनीहरूले उम्मेदवार को क्षमताप्रति सन्तुष्टि व्यक्त गरेका थिए । शिक्षा र उद्योगबीचको खाडललाई कम गर्ने आफ्नो प्रतिबद्धतालाई कार्यक्रमले जोड दिएको फाउन्डेसनका अध्यक्ष पज जालानले जानकारी दिए । ‘हामी हाम्रा विद्यार्थीहरू र यस वर्षको प्लेसमेन्ट ड्राइभको सफलताप्रति सन्तुष्ट छौँ’, अध्यक्ष जालानले भने ।