चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शुक्रबार चितवनमा पत्रकारसँग कुरा गर्दै आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताएका छन् । उनले विद्युत्को आन्तरिक खपत बढाउन सबै जनताको घरमा विद्युत् सेवा पुर्याउन लागिएको उल्लेख गरे ।
मन्त्री खड्काले नेपालमा सञ्चालित व्यवसायमध्ये सबैभन्दा बढी आयआर्जन गर्ने विद्युत्सम्बन्धी व्यवसाय भएका भन्दै यसको आन्तरिक खपत बढाउन सरकार लागेको बताए । उनले भने, “निर्माणको समय भएकाले कहिलेकाही समस्या देखिने गरेको छ । यसको समाधान गर्दै आन्तरिक खपत बढाउन सरकार प्रयासरत छ ।”
हिउँदमा विद्युत् उत्पादन कम हुँदा कहिलेकाही समस्या आउने गरेको बताउदै मन्त्री खड्काले विद्युत्को उपभोग बढी भन्दाबढी कसरी गर्ने भन्ने विषयमा सरकार केन्द्रित रहेको उनको भनाइ छ ।
मन्त्री खड्काले सरकारले डेडिकेटर लाइनको पैसा असुल गर्ने बताए । व्यवसायीले विद्युत् प्रयोग गरेबापत राज्यलाई महसुल बुझाउनुपर्नेमा जोड दिँदे उनले अहिले देखिएको विवाद चाँडै टुङ्गो लाग्ने उल्लेख गरे ।