सुर्खेत, असार १७
कर्णाली प्रदेशमा असार १४ गतेसम्म ३९ प्रतिशत धान रोपाइँ भएको छ । कर्णालीमा धान हुने कुल ४९ हजार ४ सय २५ हेक्टर जमिनमध्ये हालसम्म १९ हजार २ सय ४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाइँ सकिएको हो । त्यस्तै २ सय ७६ हेक्टर धान खेती हुने डोल्पामा शतप्रतिशत रोपाइँ भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिए । त्यस्तै १३ हजार ५ सय २ हेक्टर क्षेत्रफलमा धान खेती गरिने सुर्खेतमा भने हालसम्म १५ प्रतिशत मात्र रोपाइँ भएको प्रवक्ता पण्डितले बताए ।
त्यसैगरी, आठ हजार ३ सय १ हेक्टर जमीनमा धान खेती हुने दैलेखमा १५, सात हजार ७८ हेक्टर क्षेत्रफल भएको सल्यानमा ६५, चार हजार १ सय ६७ हेक्टर क्षेत्रफलको मुगुमा ६५ र तीन हजार ७० हेक्टर क्षेत्रफल भएको जाजरकोटमा ६५ प्रतिशत धान रोपाई भएको उनले जानकारी दिए । उनका अनुसार सात हजार ७८ हेक्टर क्षेत्रफलको रुकुपश्चिममा ३६, ५ सय ७४ हेक्टर क्षेत्रफल भएको हुम्लामा ९५, दुई हजार ५ सय ७७ हेक्टर जमिन भएको कालीकोटमा २७ र दुई हजार ८ सय हेक्टर क्षेत्रफल भएको जुम्लामा ९७ प्रतिशत धान रोपाइँ भएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कोभिड–१९ का कारण धान रोपाईंमा ढिलाई भएको जानकारी दिए । मन्त्री केसीले भने, ‘कोरोनाको जोखिम अवस्थालाई ध्यानमा राखेर भौतिक दूरी कायम गर्दै कृषिकर्ममा क्रियाशील हुन किसानहरुलाई अपिल गरिएको छ ।