काठमाडौं । गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्की जिल्लाको पोखरा बजार क्षेत्रभित्रको तीन सय ८९ रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा आएको छ । व्यक्तिको नाममा दर्ता भएका सरकारी जग्गा, लामो समयसम्म कानुनीरूपमा सरकारको नाममा आउन नसकेका, हदबन्दीभन्दा बढी भएको छानबिनबाट प्राप्त र ब्यक्तिले उपभोग गरेका सार्वजनिक, सरकारी प्रकृतिका जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याइएको हो । गत भदौं १७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कास्की जिल्लाका मालपोत र नापी कार्यालय प्रमुखसँग छलफल गरी अतिक्रमित जग्गाको सरकारको नाममा ल्याउन दिएका थिए । मन्त्रीको निर्देशनपछि सबै कानुनी आधार पूरा गरेर अतिक्रमित जग्गा सरकारको नाममा ल्याएको कास्की मालपोत प्रमुख रामचन्द्र अधिकारीले बताए ।
उनका अनुसार पोखरा महानगरपालिका वडा नं १ मा पीएन क्याम्पससँग साँध सिमाना जोडिएको दुई सय २२ रोपनी जग्गा, सोही वडाकै २५ रोपनी जग्गा, साविक छिनेडाँडा वडा नं ६ को क्षेत्रबहादुर रानाभाटको नाममा दर्ता भएको ३६ रोपनी १४ आना क्षेत्रफलको जग्गा, कास्की धिताल वडा नं ७ मा रहेको हदबन्दी छानबिनबाट प्राप्त भएको छ रोपनी ११ आना क्षेत्रफलको जग्गा र कास्कीको ढिकुरपोखरी वडा नं ५ को ९७ रोपनी चार आना जग्गा नेपाल सरकारको नाममा आएको हो ।