मस्को । रूस र युक्रेनबीच २०६ युद्धबन्दीको आदानप्रदान गर्ने सम्झौताअनुसार दुवैतर्फका बराबर संख्या गरी कुल २०६ बन्धक सैनिकको शनिबार आदानप्रदान गरिएको छ ।
रूसी रक्षा मन्त्रालयका अनुसार गत अगष्ट ६ देखि कुस्र्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणका क्रममा बन्दी बनाइएका रूसी सैनिक र रूसले युक्रेनका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका युक्रेनी सेनाको आदानप्रदान भएको हो ।
युक्रेनी पक्षबाट यसबार तत्काल कुनै प्रतिक्रिया आइसकेको छैन । रुसी रक्षा मन्त्रालयले भनेको छ, ‘वार्ता प्रक्रियाको परिणामस्वरुप कुस्र्क क्षेत्रमा पक्राउ परेका १०३ जना रूसी सैनिकलाई किएभ प्रशासनको नियन्त्रणमा रहेको क्षेत्रबाट फिर्ता गरिएको छ ।’
त्यसको बदलामा युक्रेनी सेनाका एक सय तीन जना युद्धबन्दीलाई सुपुर्दगी गरिएको थियो । जारी शत्रुताको बाबजुद, रूस र युक्रेनले संयुक्त अरब इमिरेट्स, साउदी अरब वा टर्कीको मध्यस्थतामा साढे दुई वर्षको द्वन्द्वको दौडानमा सयौँ कैदीहरू साटासाट गरेका छन् ।