काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रका काममा लाग्न घरजग्गा व्यवसायीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आइतबार नेपाल जग्गा तथा आवास विकास महासङ्घको ज्ञापनपत्र बुझ्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी उत्पादनमूलक काममा लाग्न जोड दिए ।
बसोबासका लागि आवश्यक हुने घरजग्गाको कारोबार नियमितरूपमा हुने भए पनि धेरै लगानी गरेर लामो संयम खाली हुने ‘अपार्टमेन्ट’हरू सहरमा देखिने स्थिति हुँदा त्यसले तत्काल प्रतिफल नदिने उनले बताए । प्रधानमन्त्री ओलीले यस व्यवसायलाई व्यवस्थित बनाउन र जनताको विकाससँग जोडिएका विषयमा कानुनी एवं आवश्यक सुधारका लागि सरकारले पहल गर्ने विश्वास पनि दिलाए ।
सो अवसरमा महासङ्घका अध्यक्ष भेषराज लोहनी नेतृत्वको टोलीले व्यवस्थित एवं वैज्ञानिक सहरीकरण विकास गर्न, काठमाडौं महानगरपालिकाबाट सूचना गरिएको नदी किनाराबाट थप २० मिटरको मापदण्ड कार्यान्वयन नगर्न, निजी क्षेत्रको सहकार्यमा जग्गा विकास कार्यक्रम ल्याउन, सहरी विधेयक ल्याउन, घरजग्गा कारोबारलाई ‘डिजिटलाइज्ड’ गर्न माग गरेका थिए ।