काठमाडौ । नेपाली सेनाले वार्षिकरूपमा सञ्चालन गर्ने प्रधानसेनापति ट्रफी २०८१ सुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरको खेल मैदानमा आइतबार एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका हुन् ।
असोज १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ विद्यामा प्रतिस्पर्धा हुनेछ । साथै, प्रतियोगितामा पृतना, युद्ध मुद्दती बाहिनी र विशेष फौज बाहिनीका १४ वटा टिमहरूको सहभागिता रहेको छ । प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरू सञ्चालन हुनेछन् । नेपाली सेनाभित्र रहेका खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ विसं २०६५ सालबाट प्रधान सेनापति ट्रफी सुरु भएको हो । खेलको माध्यमबाट मित्रताको अवधारणाअनुसार सैनिक नागरिक सम्बन्ध प्रगाढ तुल्याउने प्रतियोगिताको लक्ष्य रहेको छ ।
यसैबीच, प्रतियोगिताको उद्घाटनका अवसरमा आइतबार भएको पुरुषतर्फ एक हजार पाँच सय मिटर दौडमा रामचन्द्र बानियाँ र महिलातर्फ एञ्जिला कार्की प्रथम भएकी छन् । उनीहरूलाई प्रधानसेनापति सिग्देलले पुरस्कार वितरण गरेका थिए । यस्तै, प्रतियोगिता उद्घाटन समारोहमा सहभागी टिमहरूले मार्चपासका साथै विभिन्न खेलसम्बन्धी कला प्रस्तुत गरेका थिए । समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव, पूर्व प्रधानसेनापतिहरू, सुरक्षा निकायका प्रमुखहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, विभिन्न खेलकुद संघका पदाधिकारीहरू, सैनिक श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरू, रक्षा मन्त्रालयका पदाधिकारीहरू, सैनिक सहचारीहरू एवं नेपाली सेनाका अधिकृतलगायतको उपस्थिति थियो ।