काठमाडौं । राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको दुईदिने नेपाल युथ समिट सातबुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । युथ समिटमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका ख्यातिप्राप्त व्यक्तिहरू प्यानलिस्टका रूपमा सहभागी भएका थिए ।
साथै, देशभरका पाँच सयभन्दा बढी युवाले सहभागिता जनाएको समिटका संयोजक भूपेन्द्रजङ्ग शाहीले जानकारी दिए । देश निमार्णको साझा संकल्प गर्ने उद्देश्यले देशका विभिन्न क्षेत्रमा काम गरिरहेका, आफ्नो ऊर्जाशील समय कुनै क्षेत्रको उत्थानका निम्ति खर्चिरहेका युवालाई एउटै मञ्चमा ल्याएर समिट आयोजना गरिएको उनले बताए । दुई दिनसम्म चलेको समिटको पहिलो दिन शुक्रबार आयोजित उद्घाटन सत्रमा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मा, सांसदहरू विनोद चौधरी, सोविता गौतम, मैना कार्की, पूर्वसांसद नवीना लामा, रिता शाहीलगायतले सहभागिता जनाएका थिए ।
समिटमा उद्यमी विदुषी राणा, खेलाडी पलेशा गोवर्धन, व्यवसायी भरत ढकाल, बैंकर्स मनोज ज्ञवाली, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, पत्रकार दिलभूषण पाठक, नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष चिकित्सक अनिल कार्की, नेपाल शिक्षक महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगायत विभिन्न क्षेत्रका युवा, विज्ञ, उद्यमीहरू, युवानेता, चलचित्रकर्मी, लेखक, साहित्यकार, सामाजिक अभियन्ता, जनप्रतिनिधिलगायत पाँच सयभन्दा बढीको सहभागिता रहेको थियोे । अन्तर्क्रिया, बहस र छलफलमार्फत सातबुँदे घोषणापत्र जारी गर्दै समिट सम्पन्न भएको संयोजक शाहीले जानकारी दिए ।