काठमाडौं, असार १७
मेरो माइक्रोफाइनान्सले घरभाडा छुुट पाएको छ । संस्थाका अनुसार कोरोना भाइरसको महामारीसँगै गरिएको लकडाउनका कारण आर्थिक तथा व्यावसायिक कारोबारमा नकारात्मक प्रभाव परेको अवस्थालाई मध्यनजर गरी संस्थालाई अशेस्वर महासेठले घरभाडामा सहुलियत दिएका हुन् । संकटको घडीमा लघुवित्त वित्तीय संस्थालाई घरभाडा छुट दिएर धनुषाका महासेठ हजारौँ घरबेटीका निम्ति उदाहरण बनेका छन् ।
व्यवसाय ओरालो लागेको अवस्थालाई नेपाल सरकारले घरबेटीहरूलाई घरभाडा छुट गर्न आग्रह गरिरहेको छ । प्रायः घरबेटीलेहरूले साह्रै न्यून आय भएकाहरू बाहेकलाई घरभाडा छुट दिएका छैनन् । कतिपय दैनिक ज्यालामजदुरी गर्नेहरूले तिर्नसक्ने अवस्था नहुँदा पनि छुट दिइरहेका छैनन् । तर, जनकपुर उपमहानगरपालिका २१ कुर्था धनुषामा रहेको मेरो माइक्रोफाइनान्सको कुर्था शाखा कार्यालयलाई एक महिनाको घरभाडा छुट दिएर घरबेटी महासेठले सामाजिक दायित्व निर्वाह गरेको शाखा कार्यालयका प्रमुख इन्द्रजितकुमार यादवले जानकारी दिए ।
लकडाउनका कारण अर्थतन्त्र ओरालो लागेको अवस्था छ, व्यवसायी हतोत्साही बनिरहेकोले अहिलेको अवस्था सहज छैन । र सरकारले पनि एक महिनाको भाडा नलिन आह्वान गरेकोमा आफूले पनि मानवताको भूमिका निर्वाह गरेको महासेठले बताए । त्यस्तै, तीन महिनादेखि ठप्प रहेको व्यापार व्यवसायलाई ध्यान दिएर कोरोना भाइरससँगै लड्दै र संकटको बेला एक–अर्कालाई साथ दिनुपर्ने बताए ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६० हजार सहयोग गरिसकेको छ । त्यसको साथै विभिन्न स्थानीय तहहरूलाई पनि राहत तथा आर्थिक सहयोग गरिरहेकोे छ । संस्थाले नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही देशका ५९ जिल्लमा एक सय २० वटा शाखा कार्यालय र लालगढ अनुगमन कार्यालय धनुषाअन्तर्गत चार जिल्लामा नौवटा शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड ५८ लाख २९ हजार रूपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १० करोड १८ लाख २५ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८५ करोड ५१ लाख ४० हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५८ करोड तीन लाख सात हजार रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब तीन करोड ६६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३१ करोड ४१ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा संस्थाले एक अर्ब सात करोड ३६ लाख ८८ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३७ करोड ४८ लाख ८५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ८१ लाख १० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुुई दशमलव चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।