पोसकान्त पोखरेल
बुटवल, असार १८
सामाजिक काममा सधैं अग्रपङ्क्तिमा रहने सरोज अधिकारी सियारी गाउँपालिका–७ रूपन्देहीका वडा अध्यक्ष हुन् । जनप्रतिनिधि नहुँदा पनि आर्थिक भौतिक, सामाजिकलगायतको आवश्यक सहयोग गर्दै आएका अधिकारीले जनप्रतिनिधि भएपश्चात् सामाजिक कार्यमा झन् बढी सक्रियता जनाउँदै आएका छन् । अघिल्ला दुई वर्षहरूमा सेवाबापतको आफूले पाउने रकम वडामा सामाजिक कार्यमा सक्रिय संघसंस्थाहरूका साथै दीनदुःखीलाई दिएर सहयोग गरेका अधिकारीले पछिल्लो एक वर्षको सेवाबापतको रकम स्थानीयस्तरमा सञ्चालित प्राथमिक विद्यालयलाई दिएका छन् । यसले विद्यालयमा अध्ययन गर्ने ९४ जना विद्यार्थीहरूको भविष्य र विद्यालयलाई ठूलो राहत पुगेको छ ।
वडा अध्यक्ष अधिकारीले अहिले साना–साना धेरै सामुदायिक विद्यालयहरूमा आर्थिक अभाव देखिएको भन्दै गरिब तथा विपन्न वर्गका बालबालिकाले अध्ययन गर्ने विद्यालयहरू सञ्चालनमा देखिने आर्थिक समस्याको कारण उनीहरूको पढ्न र लेख्न पाउने नैसार्गिक अधिकार पनि हनन् हुने अवस्था देखिएको बताए । उनले दिनभर दुःख गरेर साँझ–बिहानको छाक टार्ने अभिभावकहरू पैसा तिरेर निजी विद्यालयहरूमा अध्ययन गराउन सक्ने अवस्था हुँदैन । त्यस्तो अवस्थामा आफ्ना बालबच्चा पढ्ने शैक्षिक संस्था बन्द भए या त घरै राख्ने या त बालश्रममा लगाउनेबाहेकको विकल्प नहुने बताए ।
पठनपाठनको लागि समस्या र आम्दानीका स्रोतहरू कम हुँदा बालश्रमिकहरूको संख्या बढ्दै गएको बताउँदै अध्यक्ष अधिकारीले सामुदायिक विद्यालयहरूप्रति देखिने समस्या कम गर्न सबै एक भएर लाग्नुपर्ने बताए । उनले राज्यले आवश्यकताअनुसारको सहयोग नगर्दा आन्तरिक स्रोत व्यवस्थापन गरेर शैक्षिक संस्था सञ्चालन गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै एक वर्षको सेवाबापत १५ दिनको गाउँपालिकाको विपत् व्यावस्थापन कोषलाई र बाँकी तीन लाख ११ हजार आठ सय ५० रुपैयाँ सियारी गाउँपालिका–७ हिरागंजमा अवस्थित श्री राम जानकी प्रावि दिएको बताए ।
वडा अध्यक्ष अधिकारीको उक्त सहयोगप्रति खुशी व्यक्त गर्दै विद्यालयका प्राधानाध्यापक चुतुर्भुज पन्तले उक्त रकमले विद्यालयका समस्याहरू समाधानमा ठूलो सहयोग पुग्ने बताए । विद्यालयमा दुई निजी, दुई राहत, एक स्थायी, एक बालविकास र एक जना कमर्चारी गरी सात जना कार्यरत रहेको प्राधानाध्यापक पन्तले जानकारी गराए ।