बेरुत । लेबनानमा हिजबुल्लाह सदस्यहरूको पेजर (सञ्चार उपकरण)मा क्रमिक विस्फोट भएको छ । सञ्चारमाध्यमका अनुसार विस्फोटमा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिज्बुल्लाहका दुई सदस्य र एक महिला पनि छन् । २७ सयभन्दा बढी घाइते भएका छन्, जसमध्ये दुई सयको अवस्था गम्भीर छ ।
मिडिया रिपोर्टका अनुसार पेजर ह्याक गरी ब्लास्ट गरिएको छ । यस ह्याकिङको पछाडि इजरायलको हात रहेको दाबी गरिएको छ । हिजबुल्लाहले आक्रमणको लागि ‘शत्रु’ इजरायललाई जिम्मेवार ठहराएको छ । तर, इजरायलले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । मंगलबार दिउँसो करिब साढे तीन बजे (स्थानीय समय) विष्फोट भएको हो ।
पेजर सन्देश पठाउन र प्राप्त गर्न प्रयोग गरिने वायरलेस यन्त्र हो । यो सामान्यतया सानो स्क्रिन र सीमित किप्याडसँग आउँछ । यसको मद्दतले, सन्देशहरू, अलर्टहरू, वा कलहरू द्रूतरूपमा प्राप्त गर्न सकिन्छ ।