काठमाडौँ । सङ्घीय सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ । आयोजनाको छ दशमलव दुई किलोमिटर लामो सुरुङ सम्पन्न भई ‘कङ्क्रिट’ ‘लाइनिङ’को काम तीव्र गतिमा भइरहेको आयोजना कार्यालयले जनाएको छ । हालसम्म मुख्य सुरुङको एक किमी कङ्क्रिट लाइनिङ गरिएको आयोजनाको प्रवर्धक कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीले बताए ।
विद्युत्गृहको मुख्य सिभिल संरचनाको निर्माण सम्पन्न गरी टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान भइरहेका छन् । मुख्य सुरुङबाट विद्युत्गृहसम्म पानी पुर्याउन राखिने एक हजार ५० मिटर पेनस्टक पाइपमध्ये एक सय ३० मिटर जडान गरिएको छ । विद्युत् उत्पादनका लागि २०÷२० मेगावाटका दुईवटा युनिट रहने आयोजना कार्यालयले जनाएको छ ।
आगामी असारभित्र सम्पन्न हुनेगरी एक हप्ताभित्र निर्माण समयतालिका टुङ्गो लगाएर सबै पक्षले हस्ताक्षर गरी सोहीबमोजिम कार्य अगाडि बढाउनुपर्नेमा जोड दिदै प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगङ्गा हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले बिहीबार निर्माणस्थलको अनुगमन गरी निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।
घिसिङले विभिन्न समस्या झेल्दै आएको आयोजना आगामी असारभित्र जुनसुकै अवस्थामा निर्माण सम्पन्न गर्नेगरी एकीकृत तालिका बनाएर काम भइरहेको जानकारी दिए । कङ्क्रिट लाइनिङको काम सम्पन्न गर्न चुनौतीपूर्ण देखिएकाले जनशक्ति थपगरी निर्माणलाई तीव्रता दिनुपर्ने देखिएको छ । आयोजनाको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा उल्लेखित स्थानबाट झिक्न नपाउँदा ढुङ्गा, गिट्टी र बालुवाको अभाव बेहर्नुपरेको थियो ।