काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सूचीकृत कम्पनीलाई वार्षिक नवीकरण शुल्क बुझाउन ताकेता गरेको छ । धितोपत्र सूचीकरण विनियमावली २०७५ को भएको व्यवस्थाअनुसार नेप्सेले आर्थिक वर्ष २०८१/८२ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन ताकेता गरेको हो ।
धितोपत्र सूचीकरण नियमावलीअनुसार वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेकोले नेप्सेले सूचना जारी गर्दे शुल्क बुझाउन ताकेता गरेको हो । नेप्सेका अनुसार ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी हुुनेको वार्षिक नवीकरण शुल्क ५० हजार रुपैयाँ रहेको छ भने ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी हुुने कम्पनीको वार्षिक नवीकरण शुल्क एक लाख रुपैयाँ रहेको छ । यसैगरी डिवेञ्चर, म्युचुअल फन्ड (सामूहिक लगानी कोष)को वार्षिक नवीकरण शुल्क भने ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी हुनेको हकमा २५ हजार र ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी हुनेको हकमा ५० हजार रुपैयाँ तोकिएको छ ।