पेरिस । मेटा र स्पोटिफाइलगायत कम्पनीको समूहले डाटा गोपनीयता र आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को सन्दर्भमा खण्डित र असङ्गत निर्णय गरेको दाबी गर्दै बिहीबार युरोपेली संघको आलोचना गरेको छ ।
युरोपेली बजार पहिले नै कम प्रतिस्पर्धी हुँदै गएको र एआईको युगमा अझ पछाडि पर्ने जोखिम रहेको दाबी गर्दै अनुसन्धानकर्ता र औद्योगिक निकायले खुला पत्रमा हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरकर्ताहरूले युरोपेली नागरिकको फाइदाको लागि एआई प्रशिक्षणमा युरोपेली डाटा प्रयोग गर्न सक्षम बनाउन डाटा गोपनीयता नियामकहरूलाई द्रुत र स्पष्ट निर्णय गर्न आह्वान गरेका छन् ।
फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको मुल कम्पनी मेटाले हालै गोपनीयता नियामक निकायहरूको दबाबपछि आफ्ना एआई मोडेललाई प्रशिक्षण दिन युरोपेली प्रयोगकर्ताबाट डाटा सङ्कलन गर्ने योजना स्थगित गरेको थियो ।
‘युरोपेली डाटा संरक्षण अधिकारीको हस्तक्षेपले एआई मोडेलहरूलाई प्रशिक्षण दिन कस्तो प्रकारको डाटा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा ठूलो अनिश्चितता सिर्जना गरेपछि हालको समयमा नियामक निर्णय लिने काम खण्डित र अप्रत्याशित भएको छ’, पत्रमा भनिएको छ ।
युरोपेली आयोगका प्रवक्ताले युरोपेली संघका सबै कम्पनीबाट डाटा गोपनीयतासम्बन्धी नियमहरूको पालना गर्ने अपेक्षा रहेको बताए ।
मेटाले प्रयोगकर्ताहरूको गोपनीयता उल्लंघनका लागि रेकर्ड जरिबाना सामना गरेको छ, जसमा जीडीपीआरअन्तर्गत एक अरब यूरोभन्दा बढीको एकल जरिबाना समावेश छ । युरपेली संघ युरोपेली प्रविधिको दुरुपयोग रोक्नका लागि डाटा गोपनीयतासम्बन्धी प्रमुख कानुन बनाउने पहिलो क्षेत्रीय संगठन बनेको छ । यसले यो वर्षको सुरुमा एआई ऐन लागू गरेको थियो ।
मेटा र अन्य प्राविधिक कम्पनीले कानुनी स्पष्टता खोजिरहेका दाबी गर्दै युरोपेली बजारमा आफ्नो सुविधाहरु प्रदान गर्न ढिलाई गरिरहेका छन् । मेटाले गत वर्ष युरोपेली बजारमा ट्विटरको वैकल्पिक सञ्जाल थ्रेड्सको रिलिजलाई धेरै महिनासम्म ढिलाइ गरेको थियो । गुगलले पनि युरोपेली संघमा एआई उपकरणको रिलिजलाई रोकेको छ । रासस/एएफपी