काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको आइतबार निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।
मन्त्री खड्काले आयोजना सञ्चालनका क्रममा देखिएका समस्या तत्काल समाधान गर्दै किसानका खेतबारीमा सिँचाइ पुर्याउन निर्देशन दिएका हुन् । “कृषिप्रधान देशमा सिँचाइको अभाव हुनुहुँदैन, बिग्रेका उपकरण यथाशीघ्र मर्मतसम्भार गरेर किसानको खेतबारीमा सिँचाइ पुर्याउनुहोस्”, उनले भने ।
मन्त्री खड्काले आजै कोसी नदीबाट सुनसरी र मोरङ जिल्लामा सिँचाइ लैजान प्रयोग गरिएको ‘डेज्रिङ पद्धती’को अनुगमन गरेका थिए । उक्त उपकरणको लम्बाइ नौ सय ९६० मिटर, चौडाइ ८० मिटर र गहिराइ १० मिटर रहेको छ । सो उपकरणले इन्टेकबाट मूल नहरमा छिरेको बालुवा तथा ग्रेगानलाई झिक्ने काम गर्ने सिँचाइ आयोजना कार्यालयले जनाएको छ ।
२०५२ सालमा निर्माण भएको दुईवटा उपकरणमध्ये हाल एउटा मात्र सञ्चालनमा छ । मन्त्री खड्काले बिग्रेका उपकरणको तत्काल मर्मत गर्नुका साथै त्यसको विकल्पमा नयाँ प्रविधिको अध्ययन गरेर सञ्चालनमा ल्याउनसके सिँचाइ सुविधामा सहयोग पुग्ने बताए । सुनसरी–मोरङ सिँचाइ आयोजनामार्फत हाल सुनसरीको ४० हजार र मोरङको २८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा उपलब्ध हुँदै आएको छ ।