न्युयोर्क (अमेरिका) । नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्री केपी शर्मा ओेली र मित्रराष्ट्र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच छलफल भएको छ । उनीहरुको भेट राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भएको थियो ।
भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाललगायत सहभागी थिए । प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चहरुमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको थियो ।
नेपालले भूटानका लागि देखाएको सद्भावप्रति आभार व्यक्त गर्दै भूटानका प्रधानमन्त्री तोग्बेले नेपाल हाल अल्पविकसित मुलुकको अध्यक्षसमेत रहेको अवस्थामा गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आत्मीय सम्बन्ध रहेको उल्लेख गरेका थिए । प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताएका थिए ।
त्यसैगरी प्रधानमन्त्री ओलीसँग राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले शिष्टाचार भेट गरेका छन् । नेपालले शान्ति प्रक्रियालाई अन्तिम रुप दिने विषयसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको आयोगसम्बन्धी कानुन पारित भएकामा उनले खुसी व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उच्चायुक्त भोल्कले नेपालको राजनीतिक सहमतिको यो विषय विश्वका लागि नमुना बन्न सक्ने उल्लेख गरेका थिए । यस्तै भोल्कले विश्व तापक्रम वृद्धिका कारण नेपालका हिमालमा हिउँ पग्लने स्थिति हुनुले विश्वलाई असर पार्ने भएकाले नेपालका लागि जलवायु न्याय आवश्यक भएकोमा समर्थन गरेका थिए ।