काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता रहेको बताएका छन् । सोमबार बैंककमा आयोजित ३७औँ एसियन ट्रेड प्रमोसन फोरममा बोल्दै ढकालले विदेशी लगानीकर्ताहरूलाई होटल, थिम पार्क र साहसिक पर्यटन गन्तव्यहरूजस्ता क्षेत्रमा सम्भावनाहरू रहेको जानकारी दिए ।
अध्यक्ष ढकालले नेपालमा रिसोर्टहरूको बढ्दो मागको चर्चा गर्दै यस क्षेत्रमा साझेदारीको अवसर रहेको बताए । नेपालको सूचना तथा सञ्चार प्रविधि र चलचित्र उद्योगमा लगानीका अवसरहरू रहेको कुरामा पनि उनले जोड दिएका छन् । ढकालले हस्तकलाका उत्पादनहरू, संगीत, चलचित्र र डिजिटल कलाजस्ता क्षेत्रहरूमा उल्लेखनीय वृद्धि भएको र यसले आर्थिक विकासमा मात्र नभई नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणमा पनि योगदान पु¥याएको जानकारी दिए । नेपालको सूचना तथा सञ्चार प्रविधि उद्योगमा रहेको अवसरहरूको चर्चा गर्दै ढकालले देशको युवा र ऊर्जावान जनसंख्याले यो क्षेत्रमा योगदान गरिरहेको बताए ।