पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीले सफल महिला उद्यमीहरूलाई सम्मान गरेको छ । संस्थाको नवौँ साधारणसभा अवसरमा संघले नेपाली ढाका उद्योग सञ्चालक मनमाया सुवेदीलाई ‘उत्कृष्ट सफल महिला उद्यमी’ घोषणा गर्दै सम्मान गरेको छ ।
यस्तै, गण्डकी प्रदेश सभाका संस्थापक सदस्य एवं हङकङ व्युटी इन्स्टिच्युट सञ्चालक मीना गुरुङ, विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्र सञ्चालक सविता श्रेष्ठ रञ्जित, स्वस्तिक हस्तकला उद्योगकी सीता गुरुङ, ऋतु सौगातकी सुन्ती पुर्जा, कर्णाली गार्मेन्ट उद्योगकी गीतानाथ योगीलाई सम्मान गरेको छ । संघले अतिथि झोला तथा गार्मेन्ट उद्योग सञ्चालक पार्वती थापा बस्नेत, न्यु मिलिनियम एकेडेमीकी कृष्णकुमारी पहारी र पुष्पाञ्जली कस्मेटिक तथा शृङ्गारकी पुष्पा मरासिनीलाई पनि सम्मान गरेको संघ अध्यक्ष शारदा बराल सरुले बताइन् ।
यस्तै, व्युटीपार्लरसम्बन्धी तीनमहिने तालिम तथा लेभलिङ र प्याकेजिङ तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । यस्तै, महिला उद्यमी संघको ७० जिल्ला शाखामध्ये सर्वोत्कृष्ट हुन सफल तनहुँ शाखालाई सम्मान गरिएको थियो । जसमा कास्की शाखा दोस्रो भएको थियो ।