काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले १५औँ संस्करणको बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ । ईक्यानले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौंको एभरेस्ट होटलमा आगामी असोज १३ गतेमा १ दिने शैक्षिक मेला आयोजना गर्न लागेको हो ।
यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सही जानकारी र परामर्श पाउन भन्ने अपेक्षासहित यो मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । मेलामा करिब १५ हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
यस मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदूतावास तथा कूटनीतिक नियोगहरूलाई समेत आग्रह गरिएको छ । मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, नर्वे, फिनल्यान्ड, मलेसिया, जर्मन, डेनमार्कलगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूको सहभागिता हुनेछ ।
नेपाली विद्यार्थीहरूलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना एवं अवसरजस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू, विश्वविद्यालयहरू र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरूको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको प्रमुख उद्देश्य रहेको छ ।
यो शैक्षिक मेला कोभिड–१९ महामारीपछि ईक्यानले आयोजना गरेको पहिलो शैक्षिक मेला हो । यो शैक्षिक मेला आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति समेत लिई सकिएको छ । विद्यार्थीहरूको उच्च शिक्षाको सपना साकार पार्न यो शैक्षिक मेला एक महत्वपूर्ण प्लेटफर्मको रूपमा प्रस्तुत हुने आयोजकको दाबी छ ।
मेलाले विशेषगरी विदेशमा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई विश्वका विभिन्न शिक्षण संस्थाहरू, तिनका शैक्षिक प्रणालीहरू, पाठ्यक्रमहरू, भर्ना प्रक्रिया र अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त डिग्रीहरूबारे विस्तृत जानकारी प्रदान गर्नेछ । यसैगरी विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न आवश्यक योग्यता, कागजातहरू, भिसा प्रक्रियादेखि छात्रवृत्ति अवसरहरूसम्म प्रत्यक्ष परामर्श प्राप्त गर्न सक्नेछन् । उनीहरूलाई आफ्नो शिक्षा र करियरको योजना बनाउन थप सहज र स्पष्ट हुने अपेक्षा गरिएको छ । शैक्षिक परामर्शदाताहरूको सहभागिता हुने यस बृहत् शैक्षिक मेलाका अधिकांश स्टलहरू बुक भइसकेको अवस्था छ ।