जिल्लाको वैतेश्वर गाउँपालिकाद्वारा सञ्चालित वैतेश्वर अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे मेसिन जडान गरिएको छ । उक्त एक्सरे मेसिन जडान गरी सेवा सुरु गरेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए ।
अस्पतालले गत शनिबारदेखि अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिनबाट सेवा दिन सुरु गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य विभागमार्फत लाखौँ मूल्य पर्ने विपियलएमआर एडी नामक डिजिटल मेसिन अनुदानमा ल्याएर प्रयोगमा ल्याइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पालिका अध्यक्ष लामाले बताए ।
उक्त डिजिटल एक्सरे मेसिन काठमाडौँबाटै प्राविधिक ल्याएर प्रिन्टर र सफ्टवेयर जडान गरेर सेवाग्राहीलाई सेवा दिन सुरु गरिएको अध्यक्ष लामाले जानकारी दिए । ‘मेसिन आपूर्ति गर्न मन्त्रालयमा धाइरहेका थियौैँ । पछिल्लोपटक सफल भयौँ’, उनले भने, ‘एक्सरे मेसिन सञ्चालन गरेर पालिकावासी तथा जिल्लावासीलाई सहजरूपमा सर्वसुलभ स्वास्थ्य सेवा दिने व्यवस्था मिलाएका छौँ ।’
नयाँ एक्सरे मेसिन सञ्चालनका पालिकाले अस्पतालमा दक्ष जनशक्तिको समेत व्यवस्थापन गरेको हुँदा प्रिन्टर र सफ्टवेयर अद्यावधिक गरेर सेवा सुरु गरिएको वैतेश्वर अस्पतालका व्यवस्थापक रोशन कुमार गिरीले बताए । नयाँ मेसिनबाट बिरामीलाई छिटो र गुणस्तरीय एक्सरे सेवा दिन सकिने हुँदा अस्पताल आउने बिरामी तथा सेवाग्राही मेसिन जडान गरेपछि खुसी भएको उनले बताए । ‘यसअघि अस्पतालमा रहेकोे प्रोटेवल एक्सरे मेसिन बिग्रन थालेपछि नयाँ मेसिन माग गरेका थियौँ’, उनले भने । उनका अनुसार अब बिरामीले सहजरूपमा मेरुदण्ड, पेल्भिक, ढाँड, खुट्टालगायतका ठूलो हड्डीको एक्सरे गर्नका लागि अन्यत्र जानु नपर्ने भएको छ ।