काठमाडौं । एनसेलले शनिबार बिहानदेखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराएको छ । सञ्चार सेवा सुनिश्चत गर्न बाढीपहिरो प्रभावित क्षेत्रमा सो सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
ग्राहकलाई परिवार, आफन्तजन, साथीभाइसँग सम्पर्कमा रहन, महत्वपूर्ण जानकारी प्राप्त गर्न, तुरुन्तै आवश्यक सहयोगको लागि सम्पर्क गर्न र सुरक्षित रहन सहयोग पुर्याउने उद्देश्यले सो सेवा सञ्चालन गरिएको कम्पनीले उल्लेख गरेको छ । निःशुल्क डेटा उपलब्ध गराउनुका साथै कम्पनीले हालको अवस्थाको मूल्याङ्कन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्नेछ । नेपाली जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरूसँग समन्वय र सहकार्य गरिरहेको छ ।
‘एक करोड ३० लाखभन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्ने एनसेल एक दूरसञ्चार सेवा प्रदायक कम्पनी मात्र नभई नेपाल र नेपाली समुदायहरूको एक अभिन्न अंग हो । हाम्रो सेवा ग्राहकलाई अनलाइन राख्न मात्र सीमित नभई यो सेवाको मद्दले ग्राहकले आवश्यक सहयोग लिन पाउन, राहत तथा उद्धार कार्यका लागि समन्वय गर्न पाउन र आफ्ना परिवार तथा प्रियजनहरूसँग सम्पर्कमा रहिरहून् भन्ने हो’ कम्पनीले भनेको छ ।