सुबास बस्नेत
दोलखा, असार १९
दोलखामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै दोलखामा कोराना संक्रमितको संख्या पाँच जना पुगेको छ । संक्रमित पाँचमध्ये भने एक जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार वैदेशिक रोजगारीबाट आई भीमेश्वर नगरपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुषमा बिहीबार कोरोना संक्रमणको पुष्टि भएको हो ।
संक्रमित पुरुषको स्वाब असार १४ गते संकलन गरी काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको थियो । बिहीबार पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले जानकारी दिए ।
त्यसैगरी दोलखामा असार १४ गते गौरीशंकर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुष र एक महिलामा कोरोना पुष्टि भएको थियो । गत जेठमा कोरोना संक्रमण देखिएकी बैतेश्वर गाउँपालिकाकी एक महिला भने कोरोना संक्रमण मुक्त भइसकेकी छन् । गत जेठ महिनामा नै कोरोना संक्रमण देखिएका भीमेश्वर नगरपालिकाका एक वृद्धको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने बिहीबार दोलखाका १ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । तर स्वास्थ्य कार्यालय दोलखाले भने एक पुरुषमा मात्रै संक्रमण पुष्टि भएको र कोरोना पुष्टि भएको भनिएकी महिलाको विषयमा जानकारी लिइरहेको जनाएको छ ।