लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु भएको शनिबार पुष्टि गरेको छ । हिजबुल्लाहले लेबनानको राजधानी बेरुतस्थित आफ्नो मुख्यालयमा इजरायली आक्रमणमा नसरल्लाह मारिएको जनाएको हो ।
हिजबुल्लाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिजबुल्लाहका महासचिव सैयद हसन नसरल्लाहले आफ्ना महान्, अमर सहिद कमरेडहरूसँग सामेल हुनुभएको छ । उहाँको मृत्यु भएको छ ।’
नसरलाहले तीन दशकभन्दा बढी समयदेखि हिजबुल्लाह समूहको नेतृत्व गरेका थिए । इजरायली सेनाले लामो समयदेखि यो आक्रमणको योजना बनाइरहेको बताएको थियो । इजरायलले ६४ वर्षीय नसरुल्लाहलाई कैयौँ इजरायली सैनिक र सर्वसाधारणको हत्याका लागि जिम्मेवार ठहर्याएको छ ।
इजराइलले हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या भएको दाबी गरेपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै लेबनानमा इजरायली आक्रमणबारे आलोचना गरेका थिए ।
वर्षौँदेखि इरानले हिजबुल्लाहलाई सैन्य र आर्थिक सहयोग प्रदान गर्दै आएको आरोप इजरायलले लगाउँदै आएको छ । खामेनीले आफ्नो वक्तव्यमा हसन नसरल्लाहको नाम नलिईकन सामाजिक सञ्जाल एक्समा लेखेका छन् । ‘एकातिर लेबनानमा निहत्था मानिसहरूको हत्याले कट्टरपन्थी यहूदीहरूको बर्बर स्वभावलाई फेरि एक पटक उजागर गरेको छ । अर्कोतर्फ, यी आक्रमणहरूले इजरायली नेताहरूको नीति कति अदूरदर्शी र मूर्खतापूर्ण छ भन्ने पनि प्रमाणित गरेको छ ।’
अयातुल्लाह अली खामेनीले लेबनान र हिजबुल्लाहका जनताको साथमा उभिन र ‘दमनकारी शासनको सामना गर्न’ उनीहरूलाई समर्थन गर्न सबै मुसलमानहरूलाई आग्रह गरेका छन् । रासस/एएफपी